– सुनिल मणि दाहाल

उनी स्नातक गरेका नेपाली हुन् र दुबईको एअरपोर्टमा भुई सफा गर्दै गरेको भेटिन्छन्। जवानी बेरोजगार भएरै बित्यो। स्नातक पास गरेर केही वर्ष आफ्नो दुई कट्ठा जग्गामा खेती गर्दा साहुको कर्जा र त्यस्को ब्याजले प्रतिफल प्राप्त गर्न नसकेपछि जग्गा बेचेर कर्जा तिर्नु परेको व्यथा छ उनीसँग।

बिहे भयो, केटाकेटी भए तर आम्दानीको स्रोत केही नभएपछि खाडीतर्फ आएको हुन् उनी। देशमा शान्ति छाउने छ, विकास हुनेछ र हामीले आफ्नै देशको सेवा गर्न पाउने छौ भनी आफ्ना वृद्ध मातापिता र छोराछोरीलाई श्रीमतीको जिम्मा लगाई रोजगारीका लागि खाडीको रापमा आएको ब्यथा पोख्छन् उनी।

“कैले देश फर्कौ जस्तो लाग्छ तर गएर पो के काम गर्नु? जहान परिवार कसरी पाल्नु? बाध्यता छ दाजु ” मलिनो अनुहार पार्दै  यसो भन्दा सुनाउने र सुन्ने दुबैका आँखा रसाउँछ।

नेपाल गहिरो सङ्कटको भुमरीमा फसी सकेको भान हुँदैछ। देश निर्माणमा लगाउनु पर्ने युवाहरूलाई राज्यबाट नै विदेश पलायन हुन बाध्य पारिएको छ। कुनै रहर र लहड नभै आफ्नो र परिवारको पेट पाल्नका लागि नै लाखौ युवाहरू विदेशिने क्रमलाई हेर्दा कही नेपाल एक असफल राष्ट्रका रुपमा सूशुचित त हुने हैन भन्ने चिन्ताले मुटु काम्दछ।

अझ खाडीको रापमा श्रम बेच्ने युवाहरूलाई विदेशी भूमिमा यत्रतत्र लथालिङ र चिन्तित अवस्थामा देख्दा मन कटक्क हुन्छ। अनि लाग्छ हाम्रो देशको जवानी त विदेशमा लुटिइरहेको छ। नेपालको यौवन खेर गइरहेको छ विदेशमा।

नेपालका राजनीतिक दलहरू र तिनका नेताहरूका गतिविधिबाट निरास भै आफ्नो र परिवारको भविष्यप्रति चिन्तिन यी युवा जमातहरू विदेशमा एक लक्ष्यहिन दिशामा आफ्नो यौवन लुटाउँदै छन। केही आशा र भरोशा बाँकी रहेन, अब त अति भएर देशका लागि केही गरौ भन्ने भावना बोक्ने अगुवा युवाहरू समेत विदेश पलायनको क्रम शुरु भएको छ।

विद्यार्थी, पत्रकार, शिक्षक वा ईमान्दार प्रशासक नै किन नहुन सिङ्गो नेपाली जनता नै गणतन्त्रको प्राप्ति पश्चात देश हाक्ने अवसर पाएका नेताहरू र तीनका क्रियाकलापबाट वाक्क र दिक्क भएका छन्।

यसप्रकार डिभी पर्नेहरू अमेरिकातर्फ लाग्छन्, अन्य क्यानाडा, ब्रिटेनलगायत युरोपतर्फ लाग्छन् भने धेरै खाडीमा रोजगारीका लागि भासिएको अवस्था छ। देशको अवस्था देखेर उच्च शिक्षा का लागि विदेश गएकाहरू समेत उतै आफ्नो भविष्य देख्न थालेका छन्।

उता मनमा देश दुखी रहने अनि आँखामा सदा अमेरिकाको रमझम नाची रहने बेतिथीभित्र फसेका तथा राजनितिको स्वाद चाख्न पल्केकाहरूको एउटा समुहले श्रम बेच्न बाध्य भै नेपालको अर्थतन्त्रमा टेवा दिदै आएका युवाहरूलाई खिसी गर्दै भन्छ- हेर त फलानो अमेरिका, युरोप पलायन भयो। फलानो त्यो इज्जत फ्याली खाडीमा किन गएको होला ? मौकामा चौका ठोक्ने यस्ता बतासे र झोले रास्ट्रबादीहरूको कमी छैन नेपालमा।

जनतालाई प्रत्यक्ष सेवा दिनु पर्ने निजामती क्षेत्रमा समेत राजनीति थोपर्ने यो मुलुकका शासक वर्ग जनताहरू प्रति अलिकती पनि उत्तरदायी र जिम्मेवार भएको भनक कहिले पनि पाउन सकिएन। लामो समय देखीको राजनितिक दल र यसका नेताहरूको क्रियाकलाप र कुर्सीका लागि पटक पटकको ‘म्युजिकल चेयर’ जस्तो घिनलाग्दो खेललाई हेर्दा लाग्छ कि यस देशका जनता ‘रैती’ र नेताहरू सबै ‘मुखिया’ सरह भएका छन्।

जनतालाई प्रतक्ष राहत र सुविधा प्रदान गर्नु पर्ने त धेरै पर को कुरा भयो। जनताको भावना र देशको आवश्यकतालाई मजाकमा उडाउदै नेतागणहरू देश निर्माणमा लाग्नु पर्ने महत्वपुर्ण अवसरमा कुर्सीको म्युजिकल चेयर खेलमा व्यस्त हुन्छन र प्रचारमुखी गतिविधिमा रमाउने गरेका छन्। यी शासक वर्गमा देश विकासका लागि केहि गरौ भन्ने न त भरपर्दो योजना छ न कुनै प्रतिवद्धता नै।

‘काग कराउदै गर्छ , पिना सुक्दै गर्छ’ भने झै कोही उत्तर पट्टी ढल्कन्छन त कोही दक्षिण पट्टी गुलामी गर्दछन्, सत्ताकालागि आज एउटा पार्टीमा त भोलि अर्कोमा। जनता सामु झुटो बचन दिनुलाई अब त राजनितिज्ञहरू आफ्नो बहादुरी नै मान्न थालेका छन्।

बिश्व किर्तिमान कायम राख्ने गरी सरकार परिवर्तन गर्छन यस देशका नेतागण। यीनमा  कुनै लाज, सरम, जनता प्रतिको  जिम्मेवारी र जवाफदेहिता अलिकती पनि छैन। जनता र नेता वीचको यो दुरीले गणतन्त्रको मज्जाले खिल्ली उडाएको प्रस्ट देखिन्छ।

शिक्षा तथा स्वास्थ जस्ता महत्वपूर्ण आवस्यकता तथा विकासका सूचकलाई बेवास्ता गर्दै यतिबेला विकासका नाममा अनावश्यक रुपले अर्बौको लगानीमा ‘भ्यू टावर’ हरू देशै भरि निर्माण गरी उद्‍घाटनका लागि नेताहरूमा तछाड मछाड चलेको छ।

देशमा दिगो र भरपर्दो योजना नै नभएका झैँ जबरजस्ती लादिएका ‘भ्यू टावर’ हरूले नेपाली जनताको पेट भर्दैन भन्ने हेक्का राखे हुन्छ। तर यी भ्यू टावरहरूले नेताहरूको पेट मात्र हैन पुस्तालाई समेत पुग्ने आम्दानी प्रदान गर्ने तथ्यलाई नकार्न सकिदैन।

यीनै कारणहरूले देशमा बेथिती मौलाएको छ। देशमा उद्योग व्यवसाय धरापमा भएको दशक नाघी सक्यो। यत्रतत्र भष्ट्राचार छ। देशले कुनै उल्लेखनिय उत्पादन गरी निर्यात गर्न सकेको छैन। व्यापारीहरू लाई आफ्नो लगानी उठाउन धौ धौ छ। घुस खुवाएर कर छल्ने परम्परा कायम नै छ। आफ्नो लगानी सुरक्षित राख्न नेपालका ठुला व्यापारिक घरानाले आय कर छल्दछन्।

यती मात्र हैन, एक आर्थिक सालमा लिएको कर्जा लाई लुकाई अर्को आर्थिक सालमा देखाई ब्यालेन्स सिट आकर्षक बनाइन्छ र वित्तिय सस्था हरू लाई ठगिन्छ। नभएको स्क्रापलाई कागज मा देखाई आर्थिक प्रलोभनबाट कर्जा लिईन्छ।

आफ्नै पारिवारिक लेखापरिक्षक नियुक्ती गरी हिसाब किताब दुरुस्त देखाईन्छन्। मुलुकको अस्त ब्यस्त अवस्थाको फायदा लिदै व्यापार व्यवसायमा आफ्नो लगानी उठाउन ठुला ठुला व्यापारिक घरानाका साहु ले ‘डमी कम्पनी’ खोली बित्तिय सस्थाबाट लिएको कर्जालाई जग्गामा लगानी गर्ने गरेको अवस्थामा समेत सरकार मौन देखिएको छ।

नेपालमा जग्गाको भाउ नाटकिय रुपमा  बढनुको एक कारण मध्ये ठुला घरानाका व्यापार हरूले जग्गामा लगानी गरेकाले हो भन्छन जानकारहरू। लामो समय देखी देशका नेतागण। र व्यापारी बिच ‘तै चोर मै चोर ‘ को अवस्थाबाट देश गुज्रीएको छ।

साना व्यापारीले तिरेको आयकर, विदेशबाट समान आयात गर्दाको भन्सार कर र युवाहरूले विदेशमा श्रम गरी पठाउने रेमिट्यान्स बाहेक नेपालको राजस्वको भरपर्दो श्रोत देखिदैन। अधिकांस ठुला व्यापारीहरूबाट जती राज्य लाई तिर्नु पर्ने दादायित्वत्व हो त्योभन्दा धेरै कम सरकारी राजस्वमा दाखिला हुन्छ। आर्थिक मसान्तको अन्त्यतिर यहाँ पैसाको ठुलो चल खेल हुन्छ जुन सबै तप्काले बाडी चुडी खान्छन।

दशै तिहारको आगमन शुरु हुनासाथ राजस्वका निकायमा पहुचववाला अधिकांस सासक बर्ग र त्यहाँका पुलिस्, प्रसासक कर्मचारीको घर घरमा कोसेलीका नाममा देशलाई ठगिएको राजस्वको केहि भाग उपहारका नाममा चढाईन्छ।

माथीको प्रसङ्ग बेथिती र मौलाएको भ्रष्ट्राचारको एउटा सामान्य उदाहरण मात्र हो। यस्ता बेथितीहरू र भ्रष्ट्राचार काठमाडौंको एक मात्र अन्तराष्ट्रिय बिमानास्थल देखि शुरु भएर यत्र तत्र जहाँ पाईला राख्यो त्यही देख्न र भोग्नु पर्ने नियती छ।

घुस खानु र अकुत कमाई गर्नुलाई नेपाली समाजले आफ्नो गौरब महसुस गर्दछ। राजनितिक प्रभाबमा कानुनलाई आफ्नो अनुकुल ब्याख्या गरी अधिकारको उल्लङ्घन गर्नु लाई बहादुरी ठानिन्छ। राजनीतिको खोल ओडी ज्यान मार्ने, भष्ट्राचार गर्ने, महिला हिङ्सा गर्ने, बलात्कार गर्ने जस्ता अपराधीहरूसँग सेटिंग गरि आम माफी दिइन्छ।

जसरी र जुन प्रकृयाले शासक वर्गले देश हाक्दै छन, यस देश भित्रका जनाताले त्यही सिको सिक्दै छन। के हाम्रा छोरा छोरी लाई यस्तै शिक्षा दिने? यस्तै विकृती र विसँगतीको सिको गरे भने देशको भाबी अवस्था कस्तो होला? यस्तै अवस्था रही रहे बर्तमान शासक बर्ग र भाबी सासक बर्गमा केहि फरक हुने छैन जुन यस देशका लागि अत्यन्त ठुलो क्षति हुनेछ।

सत्तामा एउटा आउछ अर्कोले तुरुन्त खुट्टा तान्न शुरु गर्छ। पुस्तौ सम्म पुग्ने सम्पती जोडने एक सुत्रीय योजना बाहेक अन्य सबै नाटक मात्र भान हुन्छ। सासक बर्गका यस्ता बेथीती बिच देश भित्र केहि गरौ भन्ने युवाहरू निरिह समान भएका छन। सबै थकित र भविष्य प्रति चिन्तित देखिन्छन। यस्तो विकराल अवस्थामा जरादेखि नै मल जल नगरि टुप्पोमा फल लाग्छ भनेर आश गर्नु बेक्कार र समयको बर्बादी मात्र हो।

युवा शक्ती भनेको देश निर्माणका लागि मेरुदण्ड हुन्। अझ युवाहरू भविष्यका शासक नै हुन्। पछी गएर युवाहरू कोही प्रशासक बन्छन्, कोही नेता बन्छन त कोही नीति निर्माता बनेर देशलाई हाक्ने हैसियत राख्छन। नेपालको सन्दर्भलाई लिने हो भने जबसम्म युवाहरूको चेतनाको विकासमा लगानी गरिदैन तबसम्म बर्तमान परम्पराबादी सोच, विचार र राजनीतिलाई परिवर्तन गरी देश विकास गर्न सम्भब देखिदैन।

अब सत्ताको स्वाद चाखेका प्रमूख राजनैतिक दलका नेतागणहरूले हरेक युवा पुस्तालाई जवाफ दिनु पर्ने समय आएको छ– कहिलेसम्म विदेशमा श्रम गरेर यी युवा पुस्ताले आफ्नो जवानी लुटाउने? यदी वर्तमान अवस्थाबाट उन्मुक्ती दिन सक्ने कुनै भिजन नभए सत्तामा किन बस्ने हो नेताहरू?

By Admin

Leave a Reply

Your email address will not be published.